काठमाडौं । नेपाली राजनीति र साहित्यका शिखर व्यक्तित्व जननायक बीपी कोइरालालाई राजनीतिक र साहित्यिक क्षेत्रका व्यक्तित्वले सम्झना गरेका छन् । कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा नेपाल लेखक सङ्घ काठमाडौंले आयोजना गरेको साहित्यिक महोत्सवमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरू, राजनीतिक विश्लेषक र साहित्य क्षेत्रका व्यक्तित्वहरूले उनको स्मरण गरेका थिए ।
महोत्सवमा सभापति देउवाले बीपीले प्रजातन्त्रका लागि गरेको सङ्घर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए। बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताए । कार्यक्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बीपी समकालीन समयका क्रान्तिकारी नेता रहेको भन्दै सामाजिक सुधारमा उनले देखाएको क्रान्तिकारी छविले उनलाई सधैं जीवित राख्ने बताए । अहिले समेत समाजले सहजै स्वीकार्न नसकेको विधुवा विवाह प्रथाको अन्त्य गर्न बीपीले खेलेको भूमिकाको स्मरण गर्दै चाहे राजनीतिबाट होस् चाहे साहित्यबाट बीपी सधैं क्रान्तिकारी व्यक्तित्व रहेको बताए ।
कार्यक्रममा बीपीको साहित्य सिर्जना र राजनीतिक चिन्तनको बारेमा राजनीतिक विश्लेषक प्रा.डा कृष्ण खनालले सम्भाषण गरेका थिए । साथै, बीपीको साहित्य सिर्जना र राजनीतिक चिन्तनको बारेमा नेपाल लेखक संघका सल्लाहकार डा तुलसी भट्टराई, नारायण ढकाल र डा ज्ञानु पाण्डेले परिसंवाद गरेका थिए । यस परिसंवाद कार्यक्रमलाई संघका सहअध्यक्ष डा रत्नमणि नेपालले सहजीकरण गरेका थिए ।
त्यस्तै, कार्यक्रमको अन्त्यमा साहित्यिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । जसमा नेपाली लेखक संघका महासचिव सोझो गाउँलेको सल्लाह एवं नेपाली लेखक संघकी उपाध्यक्ष विमन्सु पौडेलको संयोजनमा सो साहित्यिक रचनाहरू प्रस्तुत भएको आयोजक नेपाली लेखक संघ काठमाडौंका अध्यक्ष विशुकुमार केसीले जानकारी दिए । सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं कपनको स्वास्थ्य शिविर, शिखा बुक्सको पुस्तक प्रदर्शनी र बीपी संग्रहालयको आयोजनामा फोटो तथाा सामग्रीहरूको प्रदर्शनी आयोजना भएको थियो ।
बीपीको जीवनी
बीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । बीपी बाल्यावस्थादेखि नै नेपालमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय रहनुभएको थियो । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रित्वकालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारिएको थियो ।
विसं २०२५ मा स्वास्थ्यपरीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी उनी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभयो । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ ।
मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि नै बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो । धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भए पनि बिपीले निर्वाचन परिणामलाई स्वीकार गरे । क्यान्सर रोगबाट बिपीको २०३९ साउन ६ गते निधन भएको थियो । बिपीको निधनपछि कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ६ गते स्मृति दिवस र भदौ २४ गते जन्मजयन्ती मनाउँदै आएका छन् । यसैगरी बिपीले राष्टिय एकता तथा मेलमिलापको नीति लिई २०३३ पुस १६ गते भारत निर्वासन त्यागी नेपाल फर्कनुभएको सम्झनामा मेलमिलाप दिवससमेत मनाउने गरिन्छ ।