काठमाडौं खबर भदौ २३, २०८१
काठमाडौं । आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै राखिँदै छ । ८ सेप्टेम्बर २०२४ का दिन दिवस मनाइन लागेको साक्षरता दिवसको अवसरमा हुम्ला जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गर्ने तयारी सरकारको छ ।
दिवसबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्रकार सम्मेलन गरेर २३ भदौमा कार्यक्रम गर्न लागिएको बताएका थिए । हाल नेपालमा ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएको छ। अब १३ जिल्ला घोषणा हुन बाँकी छन् । ती जिल्लाहरू समेत साक्षर घोषणाको तयारीमा रहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले बताए ।
बागमती, गण्डक र कोशीबाहेकका प्रदेशहरू समेत साक्षर घोषणा हुन बाँकी छन् । घोषणा हुन बाँकीमा मधेश प्रदेशका सबै जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् । त्यस्तै, कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । हालसम्म ८५ प्रतिशत जनसङ्ख्या साक्षर भएको उनको भनाइ छ । भोलि हुम्ला जिल्ला समेत साक्षर जिल्ला घोषणा हुन लागेको निर्देशक ढकालले बताए ।
केन्द्रले साक्षरता अभियान सञ्चालनका लागि साक्षर घोषणा हुन बाँकी रहेका नगरपालिकालाई ४ लाख, गाउँपालिकालाई तीन लाख र साक्षर घोषणा भइसकेका पालिकाहरूलाई दुई लाख रुपैयाँका दरले बजेट पठाउँदै आएको छ। आगामी वर्ष सम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरु सुनिश्चित गर्ने उद्देश्य लिएको छ।