काठमाडौं । एउटा मान्छेले अपराधको कुन हदसम्म पार गर्न सक्छ ? हामीले एउटा थ्रिलर फिल्मको कथाभन्दा भयानक घटना काठमाडौंको बुढानीलकण्ठको घरभित्र हुने गरेको भेटिएको छ । सुगर ड्याडीको नकावभित्र अबोध किशोरकिशोरीलाई अनायासै अपहरण गर्ने र अनेक पाशविक यातना दिने गरेको रहस्य केही समय अघि मात्रै खुलासा भएको हो ।
त्यो पनि एक जना मात्रै नभएर गिरोह नै सो घटना संलग्न रहेको पाइएको छ । उनीहरू अरुलाई पाशविक पीडा दिएर त्यो मोमेन्टलाई इन्जोय गर्ने, भिडियो बनाउने गरेको पीडित युवाहरुले बताएका छन् । उनले ढलानमा ड्रिल गर्ने मेसिन मान्छेको शरीरमा चलाउँथे, स्नुकर खेल्ने पाइप मलद्वारमा घुसाइदिन्थे, नाङ्गो शरीरमा रातो पारेर तताइएको आइरन डामीदिन्थे । प्रहरीलाई उजुरी दिएमा आँखा निकाल्ने भनेर पहिले आँखा निकालेको भिडियो देखाउँथे ।
क्लब हाउस र पार्टीको नाममा युवायुवतीलाई शरीर बन्धक बनाई यातना दिने सो कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१ बस्ने ३३ वर्षीय आशीष देउला, टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका–११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् ।
उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानीलकण्ठ नगरपालिका–१ स्थित घरमा लगेर नशालुपदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्नेसम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
साथै, प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल एक थान, ह्यालमर एक थान, इलेक्ट्रिक आइरन एक थान र ब्लोवर मेसिन एक थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।