काठमाडौं खबर साउन २९, २०८१
काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयरसहित विभिन्न ३४ पदका लागि आगामी मंसिरमा निर्वाचन गर्ने तयारी आयोगले गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आयोगका पदाधिकारीहरूले मंसिरको तेस्रो साता निर्वाचन गर्नेबारे छलफल गरेका थिए ।
गत साउन पहिलो साता कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि सो पालिकामा मेयरको पद खाली छ । यसबाहेक विभिन्न क्षेत्रमा ३४ पद खाली रहेको आयोगले जनाएको छ ।
सोमबारको भेटमा प्रधानमन्त्री ओलीले जाडो मौसमअगावै हुने गरी निर्वाचनको मिति तय गर्नुपर्ने बताएका थिए । उनले निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेको सचिवालयले जनाएको छ । आयोगले मिति घोषणाअघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।