काठमाडौं । बुढानीलकण्ठको वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई र पाँच दलीय संयन्त्रबीच विद्यमान फोहोर व्यवस्थापनको सम्बन्धमा तीन बुँदे सहमति भएको छ । शुक्रबार वडाध्यक्षको मनपरीविरुद्ध बाक्लो संख्यामा प्रदर्शनमा उत्रिएका पाँच दलीय संयन्त्रका प्रतिनिधि एवं स्थानीयले केहीबेर प्रदर्शन गरेपछि वडाध्यक्ष भट्टराई वार्ता र सहमतिका लागि तयार भएका थिए । पछि संयन्त्रका प्रतिनिधि एवं स्थानीय र वडाध्यक्षबीच समस्या समाधानको विषयमा तीन बुँदे सहमति भएको संयन्त्रका सचिव मनोज सिग्देलले जानकारी दिए । सहमतिसँगै अहिलेका लागि सो वडामा यो आन्दोलन स्थगित गरिएको सिग्देलले जानकारी दिए ।
सहमतिअनुसार अब वडा नं १२ का स्थानीयले फोहोर व्यवस्थापन शुल्कबापत प्रतिघर प्रतिमहिना २५० रुपैयाँभन्दा बढी शुल्क तिर्नु नपर्ने भएको छ । यसअघि ४ सयभन्दा बढी मनपरी शुल्क उठाउने नयाँ कम्पनीलाई जबर्जस्ती शुल्क बुझाउन वडाध्यक्षबाटै स्थानीयलाई दबाब दिने गरिएको थियो । सस्तो शुल्कमा फोहोर उठाउने पुरानो कम्पनीको गाडी वडाध्यक्षकै प्रत्यक्ष संलग्नतामा नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखिएपछि नेपाली काँग्रेसको बुढानीलकण्ठ नगरसमितिको अघुवाईमा नेपाली काँग्रेसको क्षेत्रीय एवं प्रदेश समिति, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरुले बिहीबार बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
शुक्रबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच गरिएको प्रदर्शन र नाराबाजीपछि वडाध्यक्ष भट्टराई नियन्त्रणमा लिइएको सवारीको चाबी फिर्ता गरी सम्बन्धित कम्पनीलाई हस्तान्तरण गर्ने, अब फोहोर संकलन गर्नेले २५० रुपैयाँभन्दा धेरै लिन नपाउने र लिएको थाहा पाइएमा कडा कारबाही गर्ने सहमतिपत्रमा हस्ताक्षर गर्न सहमत भएका थिए । अब अर्काे व्यवस्था नभएसम्मका लागि पुरानै कम्पनीले फोहोर संकलन गर्न पाउने व्यवस्था समेत सहमतिमा उल्लेख छ ।
सहमतिपत्रमा विभिन्न पार्टीका क्षेत्रीय, नगर तथा प्रदेश समितिका प्रतिनिधिहरुको उपस्थितिमा बुनपा १२ का वडाध्यक्ष शम्भु भट्टराई, नेपाली काँग्रेसका बुनपा १२ का वडा सभापति सुनित चालिसे, नेकपा माओवादीका पार्टी वडाध्यक्ष सुवर्णराज लम्साल, रास्वपाका वडासचिव नेत्रप्रसाद चौलागाईं र राप्रपाका वडाप्रमुख राजेन्द्र प्रधानले हस्ताक्षर गरेका छन् ।