काठमाडौं । मंगलबार राति काठमाडौंमा मुसलधारे वर्षा भएको छ । मध्यरातमा भएको वर्षापछि काठमाडौंका नदी किनारमा बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा समेत भएको विभागले जनाएको छ ।
काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ ।
आज पनि पर्ने
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।