काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि पार्टीभित्रै आर्थिक हिनामिना गरेको गम्भीर आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरेका ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताएका हुन् ।
ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताएका छन् । उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने गरेको आरोप लगाए । उनले पार्टीभित्रको कुनै निर्णयविना कुनै ऋण वा लगानी गर्न नपाउने बताए । उनले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको व्यवहार उनमा नरहेको बताए । ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन,’ ढकालले भने ।
उनले रास्वपाको प्रतिनिधित्व रवि लामिछाने क्लबले नगर्ने भन्दै त्यसबाट पार्टीलाई थुत्ने दाबी गरे । उनले रास्वपा विधि र पद्धतिअनुसार चल्नका लागि गठन भएको पार्टी भएको भन्दै उनीहरूको नेतृत्वमा रहन नसक्ने बताए । उनले एउटा पार्टी सदस्यलाई कारबाही गर्ने विधिसमेत नजानेकाहरूले विधिको कुरा गर्नु उचित नहुने तर्क गरे ।