काठमाडौं खबर असार २२, २०८१
काठमाडौं । काठमाडौं उपत्यकामा विगत २४ घण्टादेखि निरन्तर परेको पानी शनिबार पनि दिनभरि पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार केही स्थानमा भारी वर्षाका साथै दिनभर विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको हो ।
महाशाखाको बिहान ८ बजेसम्मको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ।
यसैगरी ललितपुरकै गोदावारीमा ९५ मिलिमिटर, काठमाडौँको नैकापमा ८६ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौँको पानीपोखरीमा ६१.२ मिलिमिटर, काठमाडौँकै बबरमहलमा ५८.४ मिलिमिटर र काठमाडौँकै धापड्याममा ५७ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।