काठमाडौँ । आसन्न निर्वाचनको सरगर्मीसँगै काठमाडौँ महानगरपालिका वडा नं. ८ मा कांग्रेसका उम्मेदवार सचिन तिमेल्सिनाले घरदैलो सम्पन्न गरेका छन् । चुनाव प्रचारप्रसार उत्कर्षमा पुग्ने क्रममा हिजो भएको घरदैलो कार्यक्रममा मतदाताहरूले सचिनलाई भव्य स्वागत गर्दै आफ्ना अपेक्षा र समस्याहरू सुनाएका छन् ।
वडाका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै सचिनले स्थानीयको आत्मीयता र विश्वासप्रति आभार प्रकट गरेका छन् । भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विकास निर्माण, सार्वजनिक सेवाको गुणस्तर र वडाको समग्र सुधारका लागि महत्वपूर्ण सुझावहरू दिएका थिए ।
मतदाताहरूसँगको संवादपछि प्रतिक्रिया दिँदै सचिन तिमेल्सिनाले भने, “हिजो घरदैलोका क्रममा वडाबासीहरूले देखाउनुभएको आत्मीयता र विश्वासले मलाई थप उत्साहित बनाएको छ । उहाँहरूले राख्नुभएका सुझाव, अनुभव र अपेक्षाहरूलाई मैले निकै गम्भीरतापूर्वक लिएको छु ।”
जनताको आवाजलाई नै आफ्नो मुख्य मार्गदर्शन मान्ने उल्लेख गर्दै सचिनले थपे, “जनताको सरोकार र समस्याहरूको प्रभावकारी एवं इमानदार प्रतिनिधित्व गर्न म सधैं प्रतिबद्ध रहनेछु।” स्थानीय मतदाताहरूले पनि आफ्नो घरआँगनमै उम्मेदवार आएर आफ्ना कुरा सुन्दा खुसी व्यक्त गरेका छन् । निर्वाचन नजिकिँदै गर्दा कामपा–८ मा चुनावी उत्साह थप बढ्दै गएको देखिन्छ ।

