आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वानखेडे रंगशालामा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४ र लोकेश बमले ३९ रन बनाए। ऐरी र रोहित पौडेलबीच तेस्रो विकेटका लागि ८२ रनको साझेदारी भए पनि अन्तिम ओभरमा १० रन जोड्न नसक्दा नेपाल जितबाट वञ्चित भयो।
यसअघि इंग्ल्यान्डले कप्तान ह्यारी ब्रुकको ५३ र विल ज्याक्सको अविजित ३९ रनको मद्दतमा १८४ रन बनाएको थियो। नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए।
नेपालले अब दोस्रो खेल इटालीसँग माघ २९ गते खेल्नेछ।

