काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीसम्बद्ध नेता–कार्यकर्ताको व्यापक परिचालनका लागि ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान सुरू गर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले फागुन १ देखि २१ गतेसम्म सञ्चालन हुने उक्त अभियान स्वीकृत गरेको हो। अभियानसम्बन्धी व्यवस्था ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२’ को बुँदा नम्बर २१ मा समेटिएको छ।
निर्णयअनुसार ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीतिअन्तर्गत केन्द्रदेखि वडा तहसम्मका सबै नेता–कार्यकर्ता २१ दिनसम्म प्रत्यक्ष चुनावी मैदानमा खटिनेछन्। केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्रबाट तोकिएका प्रतिनिधिहरूले तोकिएको स्थानमा जिम्मेवारी पूरा गरेपछि पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित भएर काम गर्नुपर्नेछ।
अन्यत्र खटाइएका बाहेक सबै तहका पदाधिकारी र सदस्यहरूलाई आफ्नै क्षेत्र, पालिका र वडामा केन्द्रित रहन निर्देशन दिइएको छ। विशेषगरी ‘हाम्रो वडा, हामी जिताउँछौँ’ भन्ने उद्घोषसहित एक वडाको क्रियाशील सदस्य अर्को वडामा नजाने गरी आफ्नै वडामा परिचालित हुने कांग्रेसले स्पष्ट पारेको छ।
कांग्रेसले यो अभियानलाई चुनावी जितको आधार बनाउने लक्ष्यसहित संगठन सुदृढीकरण र मतदाता सम्पर्कलाई तीव्र बनाउने रणनीतिका रूपमा अघि सारेको जनाएको छ।

