

काठमाडौं । काठमाडौंको कपनमा पर्ने बहुचर्चित खहरे लगायत सो क्षेत्रमा भएका विविध परियोजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै उपत्यका विकास प्राधिकरणमा धर्ना दिइएको छ ।
सोमबार नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ को सक्रियतामा सो क्षेत्रसँग सम्बन्धित जनप्रतिनिधि राजनीतिक पार्टीका प्रतिनिधिहरू एवं स्थानीय सरोकारवालासहितले प्राधिकरणको कार्यालयअघि धर्ना दिएका हुन् ।
प्राधिकरणका नयाँ आयुक्तको रूपमा आएका सुभाष बस्नेतको कार्यकाल सुरु भएपछि सो क्षेत्रको सबै काम ठप्प भएको आन्दोलनरत पक्षको आरोप छ । उनले आफू आउनुभन्दा पहिले नै टेण्डर भइसकेका आयोजनाको काममा पनि ढिलाइ भएको उनीहरूको आरोप छ ।
आरम्भ चोकदेखि रिमाइनिडसम्म र आनीगुम्बा माथि ७५ मिटरमा बाँकी कामलाई बजेट नभएकाले बजेट थप गर्नका लागि सांसद गगन थापाले सहरी विकास मन्त्रालयमा तोक आदेशलगाई टिम्पणीका लागि उपत्यका विकास प्रधिकरणलाई अनुरोध गरेका थिए । तर अहिले सो काम गर्न नसकिने भन्ने जानकारी गराएर टिप्पणी उठाउन आनकानी गरेको आरोप उनीहरूको छ ।
जिल्ला अदालतको फैसलाले कपन खहरे बक्स कल्भर्ट नै उपयुक्त भनी निर्णयसहित पूर्णपाठ आएपछि सर्वदलीय प्रतिनिधि र जनप्रतिनिधिसहित उपत्यका विकास प्राधिकरणमा पाँच बुँदे सहमति गरी काम अघि बढाउनु भने पनि प्राधिकरणले काम अघि नबढाएकाले धर्ना दिनुपरेको बताइएको छ ।