

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का सांसद एवं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको पहलमा काठमाडौंको बुढानीलकण्ठको खरिबोटदेखि चुनिखेलसम्मको सडक कालोपत्रे सुरु भएको छ ।
अर्थ मन्त्रालयबाट सुनिश्चित गरिएको निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत् बुनपा ११ मा पर्ने खरिबोटदेखि पैयुटार जगडोल, शहीदपार्क हुँदै चुनिखेल जाने सडक कालोपत्रे भएको हो ।
यो सडक निर्माणसँगै कपनको ११ नं वडादेखि १३ नं वडामा रहेको चुनिखेलसम्मका बासिन्दालाई यसले सुविधा दिने भएको छ । केन्द्र सरकारलाई पटकपटक ताकेता गरेर यो सडक कालोपत्रे गरिएको थापाको सचिवालयले जनाएको छ ।
करिब चार किलोमिटरको उक्त सडक कालोपत्रे गर्नका लागि १२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । गत सोमबारबाट सुरु भएको कालोपत्रेको काम चैत मसान्तसम्म जगडोलसम्म कालोपत्रे भइसक्ने अनुमान गरिएको छ । बहुप्रतिक्षित सो सडकलाई आफूहरूको अनुरोधमा यही हिउँदमा नै कालोपत्रे सुरु गरेको भन्दै थापाको सचिवालयले सरोकारवाला निकालयलाई धन्यवाद दिएको छ ।