

काठमाडौं । काठमाडौंको शंकरापुरमा निर्माण भएको विश्वकै पहिलो नेपाल माताको मन्दिरको २०८२ सालको नयाँ वर्षको दिन उद्घाटन हुने भएको छ । शंखरापुर नगरपालिका– ५ इटाखेलमा रहेको नेपाल मातामन्दिरको निर्माण सम्पन्न भइसकेकाले नयाँ वर्षको दिन उद्घाटन गर्ने तयारी गरिएको आयोजक संस्था श्रीपञ्चमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्ने श्रीवनमा रहेको श्रीपञ्चमहालक्ष्मी मन्दिर सम्मुखमा निर्मित सो मन्दिरमा नेपालको ७७ वटै जिल्ला समेटिएको नक्सालाई पृष्ठभूमिमा राखी नेपाल माताको मूर्ति स्थापना गरिएको छ । नेपाल माताको मन्दिर र मूर्ति विश्वमै अन्यत्र अहिलेसम्म कतै पनि नभएको आयोजक संस्थाको दाबी छ ।
मुक्तिनाथ पीठका पीठाधीस स्वामी कमलनयनाचार्य व्यवस्थापक रहेको मन्दिर उद्घाटनसँगै नयाँ वर्षको दिनदेखि वैशाख ९ गतेसम्म मन्दिर परिसरमा राष्ट्रिय महायज्ञ आयोजना गर्न लागिएको श्रीपञ्चमहालक्ष्मी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।