

काठमाडौं । प्रशासनले आज काठमाडौँ उपत्यकामा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ। एक साता लामो पोखरा बसाएपछि काठमाडौँ फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्नको लागि भन्दै राजावादी समूहले ठूलो जमात भेला गराउन लागेपछि स्थिति असामान्य नबनोस् भन्नका लागि सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको प्रशासनले जनाएको छ।
शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सुरक्षा समन्वय समितिको बैठकले स्थिति अनियन्त्रित हुने र गैरकानुनी क्रियाकलाप हुनसक्नेतर्फ संकेत गर्दै सुरक्षाकर्मीलाई हाई अलर्टमा राख्ने निर्णय गरेको थियो।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् डीआईजी टेक तामाङ भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको बताउँछन् । ‘जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं,’ उनले भने ।