

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालापश्चात समकालीन नेपाली राजनीतिमा ज्यादा लेखिने, पढिने र चर्चा गरिने पात्रमध्येका एक हुन्, काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचिन सांसद गगनकुमार थापा । पछिल्लो समय ‘उत्तेजनाको राजनीति’ गर्नेहरुले युवालाई प्रभावित पार्नसक्ने खतरा औँल्याउँदै आएका सांसद ‘थापा’ विरासतको राजनीतिबाट ‘राजनीतिमा स्थापित’ पात्र भने होइनन् । स्कुल तथा कलेज अध्ययनकै क्रममा सडक संघर्षबाट राजनीतिमा होमिएर कांग्रेस पार्टीजस्तो नेपालको हरेक परिवर्तनको अगुवाई गर्ने पार्टीमा सर्वाधिक मतले महामन्त्री निर्वाचित ‘थापा’ पार्टी नेतृत्वमा स्थापित नेतामध्ये लगभग ‘कान्छा’ प्रतिनिधि हुन् । २०५९ देखि २०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भएर काम गरेका थापाले राजाको सक्रिय शासनकालमा गणतन्त्रको आवाजलाई मुखरित गरेकै कारण नेपाली राजनीतिक फाँटमा आफूलाई ‘युवा नेता’का रुपमा स्थापित गराइछाडे ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा पढ्दा नै राजनीतिमा सक्रिय सांसद ‘गगन’ले समाजशास्त्र तथा मानवशास्त्रमा स्नाकोत्तर गरे । नौ महिने स्वास्थ्यमन्त्री रहँदा स्वास्थ्य क्षेत्रमा जनताको तहबाट अनुभूति हुने गरी काम गरेका ‘गगन’ त्यसअघि दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति भएर ‘प्रभावशाली भूमिका’ खेलेकै कारण चर्चामा रहिरहे । दर्जनौँपटक राजनीतिक ‘मुभमेन्ट’कै कारण हिरासतमा परेका सांसद ‘थापा’लाई ‘च्यालेन्जर’का रुपमा मात्र नभई ‘भिजनरी नेता’का रुपमा समेत चिन्ने गरिन्छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट पटकपटक जनताले भारी मतले अनुमोदन गरेका नेता ‘गगन’ले क्षेत्र नम्बर ४ मा विकासका दृष्टिले फड्को मार्ने गरी सडक, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीलगायत क्षेत्रमा देखिनेगरी काम गरेका छन् ।
राजनीतिकरुपमा समेत सचेत नागरिकको बसोबास रहेको काठमाडौं क्षेत्र नम्बर ४का बासिन्दाले राष्ट्रिय राजनीतिमा क्रियाशील व्यक्तित्वलाई आफ्नो प्रतिनिधिका रुपमा पाउनुलाई सामान्य मान्न मिल्दैन । त्यसो त स्थानीय तहमा नेपाली कांग्रेसले ‘जित’ निकाल्न नसक्दा पनि आम निर्वाचनमा भने क्षेत्र नम्बर ४ का तमाम मतदाताको रोजाइमा ‘गगन’नै पर्दै आएका छन् । गोयबल्स शैलीमा बेलाबखत पुराना भिडियो फुटेज समेत प्रयोग गरेर ‘कपन खहरे’को भेलबाढीको विषय उठाएर सांसद ‘गगन’माथि कटाक्ष गरिने काम नभएको होइन । तथापि, चारका आम मतदाताले राष्ट्रिय राजनीतिको शिखर चढ्दै गरेका ‘गगन’लाई नै रोज्दै आएका छन् । आश्चर्यजनक कुरा त के छ भने उत्तेजनाको राजनीतिक गर्नेहरुले यतिबेला ‘गगन’ले क्षेत्र नम्बर ४ छाड्दैछन् भनेर पनि आत्मसन्तुष्टि लिने प्रयत्न गरेको देखिन्छ । तर, ४ का मतदाताको गगनमाथि र गगनको यहाँका मतदातामाथि जुन प्रकारको भरोसा छ, त्यसले पनि गगनलाई यो क्षेत्र छाड्न दिँदैन । अर्थात्, यो क्षेत्रले गगन र गगनले यो क्षेत्र छाड्ने कुरा त्यति सहज देखिँदैन ।

नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले राष्ट्रिय राजनीतिमा निभाउनुपर्ने भूमिका त छँदैछ, काठमाडौं ४ को संघीय प्रतिनिधिको हैसियतले समेत स्थानीयस्तरमा स–सानोसम्मको विकासमा समेत सांसद थापाको भूमिका महत्वपूर्ण रहेकै कारण स्थानियतहमा चर्चाको विषय बन्ने गरेको छ । काठमाडौं उपत्यकाभित्रको सडक जामको विषय नयाँ होइन, त्यो जाम हटाउन कोशेढुंगा सावित भएको धोबीखोला कोरिडोर निर्माण कार्य बुढानीलकण्ठ भद्रकाली मन्दिरसम्म पुगेको देख्न सकिन्छ । जसको श्रेयका एकलौटी भागिदार ‘सांसद गगन’नै हुन् । जबकि छ वर्षअघि नै तय भएको बुढानीलकण्ठ र टोखाको सीमानामा पर्ने विष्णुमती कोरिडोरको भर्खर शिलान्यास मात्र भएको छ भने दश वर्षअघि प्रारम्भ भएको ‘बागमती कोरिडोर’ले अझै पनि पूर्णता पाउन सकेको छैन । बुढानीलकण्ठ ८ मा निर्माण भएको सुन्दरबस्ती बक्स कल्भर्ट, बुनपाकै १०, ११ र १२ हुँदै महानगरमा मिसिने ‘कपन खहरे कल्भर्ट’ बुनपाभित्र सम्पन्न ठूला आयोजनामध्ये पर्छन् । त्यसका अलावा गाम्चा–कौडोल–साँपाटार–जगडोलसम्म कालोपत्र भएको छ । जुन सडकलाई ‘भाइरल रोड’ भनेर पनि स्थानीयस्तरमा चिन्ने गरिन्छ । सडक निर्माणकै सिलसिलाअन्तर्गत कमलपोखरी चोक–रातोपुल सडक विस्तार तथा ढल निर्माण, गौशाला–चाबहिल हुँदै जोरपाटी सडक तथा ढल, नक्साल–नागपोखरी–कालोपुल–सिफल–मित्रपार्क सडक र नक्सालदेखि पशुपतिसम्म ढुंगा छापेर निर्माण गरिएको ‘हेरिटेज वाक’ आदि मुख्यमुख्य सडक हुन् ।

धोबीढुंगा खानेपानी, जोरधारा खानेपानी तथा लाइन विस्तार, फुस्रेपाखा खानेपानी, विन्दबासिनी खानेपानी, विन्दबासिनी–पैयुँटार खानेपानी, महानगरका १, ७, ८ र ३० को खानेपानी आदि खानेपानीका मुख्य आयोजनाहरु हुन् । जुन सम्पन्न भएका कारण पानीको समस्या न्यूनीकरण भएको छ । स्वास्थ्य क्षेत्रमा ‘दक्षिण एसियाकै पहिलो नमुना स्वास्थ्य केन्द्र’ ज्ञानेश्वरमा निर्माण भएको छ । हाल महानगरलाई हस्तान्तरण गरिएको उक्त ‘स्वास्थ्य प्रवद्र्धन केन्द्र’कै नमुनाअनुसार महानगरले पनि अन्यत्र काम गरिरहेको छ । सांसद थापाकै पहलमा ‘डीपीआर’सम्म भएको बुनपा १० मा निर्मित नगर अस्पतालको केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने काममा मुख्य समस्या विद्यालयमा भौतिक पूर्वाधार नहुनु नै हो । सोही विषयलाई मध्यनजर राख्दै सांसद थापाकै पहलमा दाताको खोजी गरी गणेश स्कुलको नयाँ भवन निर्माण भएको छ । जसको आर्थिक सहयोग ‘ग्लोबल सेफर्ड’ नामक संस्थाले पुर्याएको थियो ।
काठमाडौं ४ मै २०७० देखि २०८१ सम्म भएका साना तथा ठूला विकासका सन्दर्भ उठाउनु पर्दा सांसद थापाकै पहलमा खानेपानी, पर्यटन प्रवद्र्धन, शहरी विकासका तर्फबाट विभिन्न आयोजना, भौतिक पूर्वाधारतर्फ, निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गतका विभिन्न सडकलगायत करोडौंको लागतमा निर्माण सम्पन्न भएको देखिन्छ । यसैगरी बागमती प्रदेश सरकारका तर्फबाट समेत सांसदहरुको सक्रियतामा खानेपानी, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा उल्लेख्य विकास भएको देखिन्छ ।

माथि उल्लेखित ठूला योजनाबाहेक पनि यसबीचमा सडकतर्फ सुकेधारा–न्यू कोलोनी–कुशल मार्ग, सरस्वती मार्ग–ज्योति बैंक–साततल्ले, गोपीकृष्ण हल–सरस्वतीनगर–भृकुटी चोक, महांकाल–भृकुटी चेक–तेन्जिङ चोक–फैका, साततल्ले–भण्डारी गामेण्ट–आकाशेधारा, बुढानीलकण्ठ मन्दिर पूर्वतर्फ शिवपुरी निकुञ्जसम्म, कामपा ४ कपन मार्ग बुढानिलकण्ठ सडक, आकाशेधारा राममन्दिर कृष्णमन्दिर, बुढानीलकण्ठ पूर्वतौलुङ स्कुल देउवा चोक र बुढानीलकण्ठ निलोपुल शिवपुरी निकुञ्ज सडक आदि सम्पन्न भएका छन् । त्यसका अलावा चपली हेल्थ सेन्टर माथिल्लो भंगाल, बदेली चोक धोबीढुंगा खानेपानी रोड, आर्मी कमान्ड तथा आर्मी स्टाफ कलेज रोड, बुढानीलकण्ठभित्रका ‘एप्रोच तथा एक्सेस’ रोडहरु, बाँसबारी–बुढानीलकण्ठ रोड, सनराइज टोल–अर्पण स्टोर रोड, गल्फुटार–मण्डिखाटार रोड, चप्पल कारखाना–मण्डिखाटार–गंगालाल रोड, गोल्फुटार–पिपलबोट शंखपार्क रोड, रिंगरोड–मण्डिखाटार–पिपलबोट–सुकेधारा रोड, गोल्फुटार सेन्ट जोसेफ–एकता टोल रोड, बाल स्वास्थ्य प्रतिष्ठान–हेपाली हाइट रोड, बुनपा एक र चारमा रहेको ज्यामिरे खोला आरसीसी पुल, मण्डिखाटार कुमारी मन्दिर रोड, खरिबोट–पैयाँटार सहिद पार्क सडक र सुन्दरबस्ती आदर्श जगर चुनिखेल तुपेक–टुसाल–जगडोल–राष्ट्रिय सहिद पार्क आदि सडक हुन् । विकास निर्माणका सन्दर्भमा यीबाहेक पनि धेरै योजनाहरु सम्पन्न भएका छन् । तथापि, वडावडाबाट अन्य धेरै योजनाहरुको पनि माग भइरहेकाले सांसद थापाले तथा उक्त क्षेत्रबाट प्रदेशसभामा समेत प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरु रहेको मन्त्रालयमा विकास निर्माणको फाइल बोकेर धाउने गरेका छन् ।

राष्ट्रिय राजनीतिमा आजका मितिमा सांसद ‘थापा’ एउटा ‘च्यालेञ्जर’कै रुपमा उदाएका छन् । उनीमाथि राजनीतिक हिसाबले पार्टीभित्र र बाहिरबाट चौतर्फी ‘आक्रमण’ हुँदै आएको देखिन्छ । तथापि, आफूमाथिको राजनीतिक आक्रमणलाई सहजरुपमा लिँदै राजनीतिक रंगमञ्चमा चुनौती स्वीकार गर्दै आएका ‘सांसद थापा’ सिंगो राजनीतिक क्षेत्रका एक उदीयमान व्यक्तित्व हुन् । आफ्नो निर्वाचन क्षेत्रलगायत समग्र मुलुककै विकासमा भिजनरी नेताका रुपमा स्थापित ‘सांसद थापा’ निर्वाचनका सन्दर्भमा भने निर्वाचनपूर्व ‘गठबन्धन’को विपक्षमा रहेकाले चर्चामा पनि छन् । कांग्रेसका महामन्त्री समेत रहेका थापाको उक्त अडानलाई कांग्रेसको महासमिति बैठक हुँदै केन्द्रीय समितिसम्मले अनुमोदन गरिसकेको छ । ‘मिसन पिएम’ स्लोगनका कारण थप चर्चामा रहेका थापाले प्रधानमन्त्रीको दाबेदार रहनकै लागि कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । कांग्रेसको भावी सभापति तथा मुलुकको भावी प्रधानमन्त्रीको रुपमा बुझिएका थापा संगठन निर्माणकै क्रममा अहिले ‘देश दौडाहा’मा छन् । काठमाडौं ४का विवेकशील मतदाताले लगातार तेस्रो पटकसम्म भारी मतले अनुमोदन गरेकै कारण राजनीतिक उचाइमा इँटा थप्न सफल ‘सांसद थापा’ नेपालको राजनीतिक वृत्तमा भने सबैभन्दा बढी चर्चामा छन् ।