

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि गरिएको कारबाहीको विषयलाई लिएर मेयर बालेन शाह रक्षात्मक बन्न पुगेका छन् । पुरानो बसपार्कको नक्सा पास मुद्दामा दोषी रहेको भन्दै छानबिन समिति गठन गरेर गुरागाइँलाई कारबाही गरेपछि उत्पन्न परिस्थितिमा बालेन रक्षात्मक बन्न पुगेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण मिलाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।
बुधबार गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउनेबित्तिकै हिजै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार भएको थियो । तर, उक्त पत्र आउनेबित्तिकै ‘अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न’ माग गर्दै पत्राचार गरिएको हो ।
‘मूल सम्झौताको आधारभूत सर्त, भवन मापदण्ड तथा भवन संहिता समेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन विषयमा त्रूटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजनालगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट हुनेछ,’ महानगरले मन्त्रालयलाई लेखेको पत्रमा छ ।
अहिले महानगरपालिकामा नयाँ कार्यकारी अधिकृत नहुँदा अहिले सबैखाले भुक्तानीहरू रोकिएको छ।