

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।
कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।
यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।
यसैबीच कामपाले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा छवटा क्षेत्र निर्धारण गरी काम गर्ने भएको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउन नयाँ व्यवस्था गर्न लागिएको वातावरण व्यवस्थापन विभागको भनाइ छ ।
वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छवटै क्षेत्रमा एक–एक वटा ट्रान्फरस्टेशन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनका लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिने छ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरेको हो ।