

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका आफ्नै नयाँ प्रशासनिक भवनमा सरेको छ । थलीमा बनेको भव्य भवनमा सोमबार रुद्री पूजा गरेर गृह प्रवेश गरिएको थियो । ठू ठूला नेतालाई बोलाएर रिबन काटेर नयाँ भवनको उद्घाटन गर्नुको साटो हिन्दु धर्मको विधिअनुसार रुद्रीसँगै हवनादि पूजा कार्य गरेर भव्यरूपमा नगरपालिका भवनमा गृहप्रवेश गरिएको नगरपालिकाले जनाएको छ ।
नयाँ भवन उद्घाटनको रुद्री पूजामा नौवटै वडाका वडाअध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो । भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतिक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, भवन अपाङ्गमैत्री रहेको छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ ।
नयाँ भवन सञ्चालनमा आएसँगै कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो सेवालाई सहज र सरल बनाउँदै थप प्रभावकारी ढङ्गले अघि बढ्ने जनाएको छ । विगतमा आफ्नो छुट्टै भवन नहुँदा विभिन्न समस्याबाट गुज्रिनु परे पनि अब भने नवनिर्मित भवनबाट प्रशासनिक कामकाजलाई सरल र पारदर्शी बनाउन मद्दत पुग्ने नगर प्रखुम उपेन्द्र कार्कीले जानकारी दिए । नगर प्रमुख कार्कीले आफ्नो कार्यकालमा विभिन्न सकारात्मक कामहरू गर्दै नगरपालिकालाई समृद्धिको मार्गमा अगाडि बढाउने मौका पाएकोमा खुशी व्यक्त गरे । नगरपालिकाले सेवा प्रवाहसँगै वातावरण संरक्षणमा पनि विशेष जोड दिँदै आएको छ ।