

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको हिमालय बोर्डिङ स्कुलले श्रीमद्भागवत गीता वाचन प्रतियोगिता आयोजना गरेको छ। विद्यार्थीहरूमा धार्मिकता र प्रवचन क्षमताको विकास होस् भन्ने उद्देश्यले यसअघि पनि आयोजना गरेको विद्यालयको यो दोस्रो भागवत वाचन प्रतियोगिता हो।
कार्यक्रममा विद्यालयले चर्चित श्रीमद् भागवत कथावाचक डा. चिन्तामणि योगीलाई प्रमुख अतिथिको रूपमा बोलाएको थियो । विद्यार्थीको वाचन क्षमताको आधारमा मूल्याङ्कन गरिएको सो प्रतियोगितामा विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक खेमराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाल्मिकी क्याम्पसकी सहायक क्याम्पस प्रमुख डा. रमा भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
प्रतियोगितामा कक्षा ५ बाट प्रिन्स न्यौपानेले प्रथम भएका छन् । उनले दुई हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, कक्षा ६-९ सम्मको प्रतियोगितामा अभिसान थापा मगरले प्रथम स्थान हासिल गर्दै पाँच हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । प्रतियोगितामा कक्षा ५ का आस्तिक पौडेल द्वितीय र विवश घिमिरे तृतीय भएका थिए भने प्रवेश खत्री र मनिषा सुनारले सान्त्वना पुरस्कार पाएका थिए ।
विद्यालयका गीता प्रशिक्षक विदुर फुँयालको संयोजनमा भएको सो प्रतियोगितामा कक्षा ६ -९ तर्फ क्षितिजा श्रेष्ठ दितीय र शशांक न्यौपाने तृतीय भएका थिए भने रेबिका उपाध्यायले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगिताको समापन कार्यक्रममा विद्यालयका निर्देशक डोलराज बस्याल, भाइस प्रिन्सिपल श्यामकाजी श्रेष्ठ, नगरपालिकाका लेखा समिति संयोजक तथा लेखा अधिकृत राजकाजी श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्यहरू पदम राई ,को-अर्डिनेटर पुस्कर बस्नेत, प्राइमरी इन्चार्ज इशारा सिंहको उपस्थिति रहेको थियो ।