

काठमाडौं। काठमाडौँको गौशालामा एक पुरुषमाथि लुटपाट गरेको अभियोगमा एक महिलासहित चार जना पक्राउ परेका छन् । गेस्टहाउस जाउँ भन्दै महिला लगाएर प्रलोभनमा पारी एकान्त ठाउँमा लगेर लुटपाट गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चितवनको पिप्ले घर भई हाल काठमाडौँको सिफल बस्ने १९ वर्षकी रस्मी क्षेत्री, पर्साको वीरगन्ज महानगरपालिका ३२ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका परबेस अन्सारी, सोही ठेगानाका १८ वर्षकै नजमुदिन अन्सारी र गोरखाको गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका जनेद हुसेनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
गएको शुक्रबार बेलुकी साढे १० बजे बत्तिसपुतलीस्थित सडकबाट ‘गेस्टहाउस जाउँ’ भन्दै लगेर युवतीले एकान्तमा लगेर अन्यसाथीहरुसँग मिलेर लुटपाट गरेको प्रहरीको आरोप छ । सुनसरी घर भई हाल काठमाडौँको कागेश्वरी नगरपालिकाका बस्ने ३५ वर्षीय पुरुषलाई रस्मीले गेस्टहाउस जाउँ भन्दै एकान्तमा लगेर लुटपाट गरेको आरोप छ। उनको साथबाट मोवाइल, पर्स र घडी लगायतका सामान लुटपाट भएको थियो।