

काठमाडौँ । आइतबार एक विशेष सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेर अवैध अनलाइन जुवा, सट्टेबाजी, अनलाइन ठगी, क्रिप्टोकरेन्सीलगायत कारोबारका आरोपीलाई पक्राउ गरेको छ। धेरै सूचना नचुहाएको प्रहरीले त्यहाँबाट कम्प्युटरलगायतका डिभाइस बरामद गरेको र करिब दुई दर्जन आरोपीलाई पक्राउ गरेको जनाएको छ। के गतिविधि भएको थियो र कस्ता ठगी भएका थिएलगायतका विषय पत्रकार सम्मेलनबाट जानकारी गराउने प्रहरीको तयारी छ।
आइतबार नै प्रहरीले बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने ३४ वर्षीय सृजना पौडेललाई पक्राउ गरेको थियो । अन्य तीनजना व्यक्ति मध्ये बुढानिलकण्ठमा बसोबास गर्ने एकजना पनि अहिले प्रहरी हिरासतमा छन्।
पछिल्ला एक वर्षका गतिविधिलाई हेर्ने हो भने प्रहरीले पक्राउ गरेका ठगी र अवैध गतिविधिका आरोपीहरूमध्ये धेरै मान्छेको बसोबास स्थल बुढानीलकण्ठ नगरपालिकामा रहेको देखिन्छ। स्वदेशी चर्चित आपराधिक पात्रहरू सँगसँगै अवैध रुपमा बसोबास र गतिविधि गर्दै आएका विदेशी नागरिकहरूको समेत पनि यही क्षेत्रबाट पक्राउ पर्नुले यो क्षेत्रलाई तस्करहरुले आफ्नो अड्डाको रुपमा विकास गर्दै आएको अनुमान गर्न सकिन्छ।
यसरी समाचारहरू हेर्दै जाने हो भने काठमाडौँमा बसेर विभिन्न बहानामा ठगी गर्ने २२ जना चिनियाँ पक्राउ पर्नेदेखि जुवाको खालबाट पक्राउ पर्नेहरूको संख्या बुढानीलकण्ठमा प्रशस्त भेट्ने गरिन्छ ।
गत भदौ महिनामा एउटा पासविक र आततयी घटनामा संलग्न रहेको भन्दै आफूलाई सुगर ड्याडी भनेर चिनाउने आशिष देउजासहित चार जनाको टोलीलाई प्रहरीले बुढानीलकण्ठको एक घरबाट पक्राउ गर्यो। अबोध युवाहरूलाई पक्राउ गरी बुढानिलकण्ठमा रहेको आफ्नो घरमा लैजाने र फलाममा ड्रिल गर्ने या आइरन गर्ने जस्ता यातना दिने देउजालाई प्रहरीले पक्राउ गरेर अहिले उनी कारागार चलान भइसकेका छन्। यो पनि बुढानीलकण्ठमा नै घटेको घटना हो।
यस बाहेक पनि अन्य अपराधका व्यक्तिहरूलाई हेर्ने हो भने पनि धेरैजना बुढानीलकण्ठ क्षेत्रबाट नै पक्राउ पर्ने गरेका छन्। जस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्ने बेलामा गृहजिल्ला अर्घाखाँचीबाट फर्किएर बुढा निलकण्ठ क्षेत्रमा लुकेर बसेका थिए। प्रहरीले सोही क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो। आफ्नै आश्रमकी आनीलाई बलात्कार गरेको अभियोग लागेका आफूलाई लिटिल बुद्ध बताउने रामबहादुर बम्जनलाई पनि प्रहरीले गत पुस २४ गते बुढानीलकण्ठबाट नै पक्राउ गरेको थियो।
समाचार स्क्रोल गर्दै जाने हो भने केवल ठगी मुद्दाका मात्रै नभएर भ्रष्टाचार तस्करी र अन्य सामाजिक अपराधका आरोपीहरु समेत पटकपटक बुढानिलकण्ठ क्षेत्रबाट नै पक्राउ पर्नुले तस्कर र अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूले यो क्षेत्रलाई आफ्नो अड्डाको रुपमा विकास गर्न खोजेको देख्न सकिन्छ।
बुढानीलकण्ठ मन्दिर आसपास पर्ने वडा नम्बर १ २ ३ लगायतका क्षेत्र व्यावसायिकभन्दा बढी आवासीय क्षेत्रको रूपमा रहेको छ। आवासीय क्षेत्रमा धेरै मान्छेको आउजाउ नहुने र एकले अर्काको चासो पनि नदिने हुनाले पनि यस्ता तस्कर र अपराधी क्रियाकलापमा संलग्न व्यक्तिहरूले यस क्षेत्रलाई बढी रोजाइमा पारेको हुन सक्ने देखिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए।