काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गर्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । गत वैशाख ५ गते प्रेम सम्बन्धका आधारमा विवाह गरेका उनीहरूबीच विवाहको केही समयपछि नै सम्बन्धमा खटपट सुरु भएको थियो । विवाहपछि दम्पती अस्ट्रेलिया गएका थिए, तर केही समयपछि नेपाल फर्किएपछि सम्बन्धमा गहिरो खटपट देखिएको एलिनाले उल्लेख गरेकी छन् ।
पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । ‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्याउने गर्दा मनमुटाव भइरहन्थ्यो,’ फिराद पत्रमा चौहानले लेखेकी छन्, ‘त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।’ उनले पतिको अंशमा दाबी नगर्ने पनि उल्लेख गरेकी छन् ।
केही दिनअघि मात्रै आफ्नो घर दिएर कलाकार छविराज ओझा र शिल्पा पोखरेलबीच सम्बन्धबिच्छेद भयो । तीन वर्ष पुरानो मुद्धामा सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले २०७९ साल फागुन १५ गते अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको थियो । न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले अंशबण्डा नभएसम्म ओझालाई मानापाथी भर्नसमेत आदेश दिएको थियो । अहिले उनीहरूको मु्द्दा टुंगिएको छ ।
हास्य कलाकार मनोज गजुरेलले धेरैलाई हँसाए पनि आफ्नो पारिवारिक सम्बन्धका कारण उनको जीवन त्यति हँसिलो छैन । लामो समयको विवादपछि पत्नी मीना गजुरेलसँग २०७४ साल पुस ११ गते कानुनी रुपमा अलग भएका उनीहरूको तनाव भने अझैसम्म सकिएको छैन । मिलेमतोमै सम्बन्धविच्छेद गरेको भए पनि अहिलेसम्म गजुरेललाई पूर्वपत्नीले समस्या गराइरहेको समाचारहरू आउने गर्छन् ।
अभिनेतृ रेखा थापा, गायक निशान भट्टराई, गायिका अञ्जु पन्त, अभिनेतृ सञ्चिता लुइँटेल, निखिल उप्रेती यी सम्बन्धविच्छेद भएका कलाकारहरूको सूची हो । यो सूची खोज्ने हो भने धेरै लामो जानेवाला छ । तर किन कलाकार भन्नेबित्तिकै सम्बन्धविच्छेदसँग साइनो जोडिन्छ त ? यसको पछि मनोविज्ञानलगायत धेरै कुरा जोडिएको देखिन्छ ।
कलाकारितामा चर्चा कमाएका कलाकारहरू आफ्नो स्टारडमको लागि घरपरिवारभन्दा करिअरलाई महत्त्व दिँदा धेरै समस्या हुने मनोवैज्ञानिकहरू बताउँछन् । काममा व्यस्त हुँदा अर्को पक्षमा भने शंका उब्जनी हुने गर्छ । लामो समय परिवारसँग अलग रहनु र अन्यत्र सम्बन्ध बन्नु आदि अवस्था वा कारणले कलाकारका वैवाहिक सम्बन्ध बिग्रिएको देखिन्छ । यही पक्षलाई शुक्रबार मात्रै गायिका एलिना चौहानले दायर गरेको फिरादपत्रमा समेत स्पष्ट देखिन्छ ।
कलाकारितामा जो प्रवेश गर्छ, त्यो एउटा महत्त्वाकांक्षाका साथ आएको हुन्छ । त्यसमा एक सफल, अर्को असफल भयो भने पनि सम्बन्धमा तितोपन आउने गरेको देखिन्छ । यस्तो अवस्थामा दुवै सफल भए भने सम्बन्ध टिक्छ, नत्र टिक्दैन । एक सफल र अर्को कम सफल हुँदा दुवैमा इगो आउने र त्यसले सम्बन्धमा नकारात्मक असर गर्ने गरेको देखिन्छ ।