

काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ नाराका साथ आयोजना हुने आठौँ संस्करणमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायतका कार्यक्रम हुने अध्यक्ष पाठकले बताए ।
उनले भने, “यस अगाडिका शृङ्खलाभन्दा भव्य बनाउने किसिमले हामीले तयारी गरेका छौँ । चलचित्रप्रेमी दर्शक आकर्षित हुनेगरी हामीले प्राप्तमध्येबाट चलचित्र छनोट गरेका छौँ । यो विश्वभरका चलचित्रकर्मी भेटघाट, छलफल र चलचित्र आदानप्रदान गर्ने माध्यम बन्नेमा विश्वस्त छौँ ।” उनले महोत्सवअन्तर्गत तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को आयोजना गरिने जानकारी दिए ।
उक्त दिन तीन वटा रसियन चलचित्र प्रदर्शन गरिने छ । महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको छ । दुवैमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’मा जोन योञ्जनले निर्देशन गरे ‘क्रलिङ क्रोज’, दिनेश राउतले निर्देशन गरे ‘पूजार सार्की’, सिद्धार्थ पुडासैनीले निर्देशन गरेको ‘सानो संसार’ र लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’ छनोट भएका छन्।
नेपाली वृत्तचित्रको प्रतिस्पर्धा विधामा सुविना श्रेष्ठको ‘देवी’, रजिला श्रेष्ठको ‘छेसाङ’, गौरव आयरको ‘मुक्ति’, तासी लाजोमको ‘नो मोनास्ट्री नो भिलेज’, दीपा श्रेष्ठको ‘उड्ने सपना’ र लव प्याकुरेलको ‘गल्र्स रिराइटिङ डेस्टिनी’ रहेको छ । यस संस्करणदेखि एआई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव निर्देशक पाठकले जानकारी दिए । ‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ।