

काठमाडौं । बुधबार प्रदर्शन गर्ने तयारी रहेको एक्टर टेक वन नामक चलचित्र प्रदर्शनमा जिल्ला अदालत काठमाडौंले रोक लगाएको छ । मंगलबार अदालतले प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएपछि रलिजको एक दिनअघि फिल्मको प्रदर्शन रोकिएको हो।
नाम र विषयवस्तु समेत चोरी भएको भन्दै निर्माताविरुद्ध उजुरी परेको थियो । फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको आरोप पुरानो चलचित्र एक्टरका निर्माताको छ । यस कम्पनीका सञ्चालक मनोहरि थापा हुन्। उनको फिल्म ‘एक्टर’ गत ४ माघमा प्रदर्शनरतमा आएको थियो।
कानुनी प्रावधानसमेत छलेर फिल्म बनाएको र कथावस्तुसमेत चोरीको प्रयोग गरेर गैरकानुनी कार्य गरेको आरोप लगाउँदै ‘एक्टर’ पक्षले प्रतिलिपि अधिकार कानुनबमोजिम कारबाही गरी उचित क्षतिपूर्तिसहित उपयुक्त आदेश माग गरेको थियो।