

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आजदेखि ४ दिनसम्म काठमाडौँका विभिन्न स्थानमा दैनिक ५ घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले विभिन्न स्थानमा फरक फरक दिनमा बत्ती जान्न सक्ने बताएको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो। गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरि बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले सूचना प्रकाशित गरेर जानकारी दिएको छ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको प्राधिकरणले जनाएको छ।