काठमाडौं खबर माघ ३, २०८१
काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको भन्ने बागमती प्रदेशमन्त्रीको भनाइमा काठमाडौं महानगरपालिकाले आपत्ति जनाएको छ । बिहीबार महानगरपालिकाका प्रशासन विभाग प्रमुख ध्रुव काफ्लेले विज्ञप्ति जारी गर्दै मन्त्रीको यो भनाइ अबुझपनायुक्त टिप्पणी भएको भन्दै आपत्ति जनाएको हो । बुधबार काठमाडौँमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले यस्तो गुनासो गरेका थिए ।
महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ : ‘माघ २ गते बुधबार काठमाडौँमा बागमती प्रदेश सरकारले आयोजना गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको भन्ने बारेमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सहायक प्रवक्ता समेत रहेका काफ्लेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीले काठमाडौँ महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनु पर्ने भएपनि अहिलेसम्म राजस्व नबुझाएको र बजेट चाहिएपछि प्रदेश सरकारसँग बजेट माग्ने भन्दा बाहेक अरु कुरामा कहिले पनि समन्वय भइरहेको छैन भन्ने यो भनाइ आफैँमा गैर जिम्मेवार र विषय वस्तुको जानकारी नलिइ व्यक्त गरेको देखिन्छ।’