काठमाडौं । सार्वजनिक जग्गा संरक्षणको लागि भन्दै कार्यविधि बनाएको बुढानीलकण्ठ नगरपालिकाले आफू अनुकूल संस्थालाई लाभ हुने गरी सार्वजनिक जग्गा प्रयोग गर्न दिने गरी कार्यपालिकाबाट निर्णय गराएको छ । सार्वजनिक जग्गा तथा सरकारी सम्पति संरक्षण र उपयोगसम्बन्धी कार्यविधि–२०८० मार्फत् सार्वजनिक जग्गा र सम्पतिको अतिक्रमण, दुरुपयोग नियन्त्रण गरी अतिक्रमण भएका जग्गा खाली गराई सोको संरक्षण गर्ने उपायसम्बन्धी सुझाव दिने उद्देश्य लिएको नगरपालिकाले गत भाद्रमा भएको ५२ औं नगर कार्यपालिकामार्फत् सार्वजनिक जग्गा विभिन्न संस्थालाई दिने निर्णय गरेको छ ।
कार्यपालिकाको निर्णय नं ४.१४ मा जीवनका लागि भोजन नेपालबाट नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत १ देखि १० कक्षासम्मका विद्यार्थीको लागि दिवा खाजा खुवाउन मेघा किचन व्यवस्थापन गर्न नेपाल सरकारको नाममा रहेको बुना वडा नं ८ साविक महांकाल गाविस कित्ता नं ९१ को पाँच रोपनी ७ आना सार्वजनिक जग्गाबाट २ रोपनी जग्गा दिने निर्णय गरेको हो ।
त्यस्तै, नगरपालिकाको सोही बैठकले निर्णय नं ४.१५ मा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघलाई बुनपा वडा नं ५ साविक विष्णु गाविस ८ घ मा रहेको सार्वजनिक जग्गामध्ये कित्ता नं ११३ बाट ९ आना, ११५ बाट १० आना २ पैसा, ११७ नं कित्ताबाट १२ आना २ पैसा र ७६ नम्बर कित्ताबाट २ रोपनी जग्गा दिने निर्णय गरेको छ ।
यसरी व्यक्ति तथा संस्थाले हडपेको जग्गा समेत नियमन गर्नुपर्ने निकायले यसरी सार्वजनिक जग्गा आफूअनुकुल व्यक्तिलाई बाँडेपछि स्थानीय आक्रोशित भएका छन् । त्यसो त बुढानीलकण्ठ नगरपालिकाभित्रका कतिपय जग्गाहरू व्यक्ति र प्रभावशाली व्यक्तिहरूले समेत मिच्दै आएका समाचार आउने गरेका छन् । जसलाई नियन्त्रण गर्नुपर्ने बुढानीलकण्ठ नगरपालिका उल्टै संस्थालाई जग्गा बाँड्दै हिँड्न थालेपछि यतिबेला बुढानीलकण्ठको सार्वजनिक जग्गाको संरक्षण कार्य खतरामा परेको छ ।