काठमाडौं । काठमाडौंको हात्तीगौँडामा रहेको ट्रुनग्राम इन्टरनेशनल एकेडेमीमा पछिल्लो १० दिनदेखि तालाबन्दी भएको छ । छात्रवृत्ति र विद्यार्थीबाट असुल गरिने शुल्कलगायतको विषयमा चरम लापरबाही भएको भन्दै अखिल क्रान्तिकारी काठमाडौं जिल्ला समितिले अहिले दोस्रो पटक विद्यालयमा तालाबन्दी गरेको हो । यसअघि लगाइएको ताला विद्यालय प्रशासनले फोरेको भन्दै अहिले दोस्रो पटक ताला लगाइएको अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्वजिल्ला उपाध्यक्ष जनक ढुंगानाले जानकारी दिए ।
आखिर अखिल क्रान्तिकारीले किन बारम्बार विद्यालयमा आन्दोलन गरिरहेको छ त ? यसबारे जानकारी लिनका लागि यस शैक्षिक वर्षको सुरुवाततिरसम्म पुग्नुपर्छ । गत चैत ३० गते अखिल क्रान्तिकारीको जिल्ला समिति इन्चार्ज यादव ढुंगाना र अध्यक्ष लक्ष्मण बस्नेतले हस्ताक्षर गरी १९ बुँदे ध्यानाकर्षण पत्र क श्रेणीका लगभग सबै विद्यालयहरूमा बुझाएको थियो । जसमा विदेशी पाठ्यक्रम लागू नगर्ने, वर्षैपिच्छे भर्ना शुल्क लिन नपाइने, परिचयपत्र निशुल्क बनाउनुपर्नेजस्ता मागहरू राखिएको थियो । साथै, छात्रवृत्तिमा गरिब र जेहेन्दार विद्यार्थीलाई मात्रै छनोट गर्नुपर्ने माग गरिएको थियो भने ट्रुनग्राम एकेडेमी लगायत अन्य विद्यालयले पनि सार्वजनिक जग्गा समेत मिचेर विद्यालयको भोगचलनमा ल्याएको भन्दै त्यस्ता जग्गा फिर्ता गर्नुपर्ने माग पनि राखेको थियो ।
तर गत जेठमा ट्रुनग्राम इन्टरनेसनल एकेडेमीले प्रकाशन गरेको छात्रवृत्तिको सूचीमा गरिब र जेहेन्दार विद्यार्थीभन्दा पनि वडाध्यक्ष र नगरपालिकाको शिक्षा समितिका कर्मचारीका छोराछोरी वा आफन्त समेटिएपछि आफूहरूले विद्यालयविरुद्ध आन्दोलन गर्न बाध्य हुनुपरेको ढुंगानाले जानकारी दिए ।
उक्त छात्रवृत्ति र विद्यार्थीबाट उठाइने शुल्कको विषयलाई लिएर क्रान्तिकारीले यसअघि नै सो विद्यालयमा तालाबन्दी गरेको थियो । तर, विद्यालयले माग पूरा गर्नुको साटो ताला नै फोरेर संगठनको मागलाई बेवास्ता गरेको क्रान्तिकारीको आरोप छ । अहिले छात्रवृत्ति पारदर्शी हुनुका साथै पूर्ण नि:शुल्क हुनुपर्ने, विद्यालयको सम्पत्ति विवरण सा्र्वजनिक गर्नुपर्ने, विद्यार्थीसँग लिइएका अनावश्यक शुल्क फिर्ता गर्नुपर्ने, अडिट रिपोर्ट सार्वजनिक गर्नुपर्नेजस्ता पाँच वटा माग राखी क्रान्तिकारीले गत पौष १५ गतेदेखि फेरि विद्यालयमा तालाबन्दी गरेको छ । ढुंगानाले सामाजिक व्यक्तिको सहयोगबाट सञ्चालित विद्यालयमा मनपरी चलेकोले आफूहरू आन्दोलनरत रहेको स्पष्ट पारे । विद्यालयले आफ्ना मागलाई बेवास्ता गरेको भन्दै अब एक हप्ताभित्र आफ्ना मागहरु पूरा नभए अझ संघर्षमा जान बाध्य हुने र उत्पन परिस्थितिको स्वयम सम्बन्धित पक्ष जवाफदेही हुने पनि केन्द्रीय सदस्य सम्राट थापाले बताए ।
उता, विद्यालयले भने वडाध्यक्ष र नगरपालिकाको शिक्षा शाखाका अधिकारीहरूले गरेको सिफारिसको आधारमा आफूहरूले छात्रवृत्ति दिएको स्पष्ट पारेको छ । विद्यालयका कार्यकारी प्रधानाध्यापक उत्तमराज थापा वडाध्यक्ष र नगरपालिकाले गरेको सिफारिसमा आफूहरूले चेकजाँच गर्ने अधिकार नरहेको बताउँछन् । उनी त्यही सिफारिसको आधारमा छात्रवृत्ति दिएकाले यसमा आफूहरूको हात नरहेको बताउँछन् । उनले आफ्नो विद्यालयमा अन्य ‘क’ वर्गका विद्यालयको तुलनामा आधा शुल्क लिने गरिएको उनको दाबी छ ।
तर विद्यालय स्रोतले पनि नगरपालिका र वडाको दबाबमा विद्यालयले जेहेन्दारभन्दा पनि भनसुन लाग्नेहरूलाई नै छात्रवृत्ति दिने गरेको कुरालाई भने स्वीकारेको छ ।