काठमाडौं । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समिति बनाएपछि सुरु भएको भाँडभैलो निमित्त प्रमुखले समेत राजीनामा दिने अवस्थासम्म आइपुगेको छ । मेयर बालेन शाहको निर्देशनमा छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए ।
विशेष कारण देखाउँदै शर्माले समेत मंगलबार राजीनामा दिएका छन् । त्यसपछि अहिले महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ । अहिले नक्सापास विवादमा महानगरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जसमा सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी सदस्य छन् ।
गत पुस ५ मा महानगरका प्रवक्ता नवीन मानन्धर र मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले पत्रकार सम्मेलन गरी प्रक्रिया नै पूरा नगरी काठमाडौं टावरको नक्सा स्वीकृति दिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएका थिए । निमित्त प्रमुख शर्माले मेयर बालेन साह पारिवारिक भ्रमणमा थाइल्यान्ड गएको समयमा पदबाट राजीनामा दिएको महानगरले जनाएको छ ।
तर यसले महानगरपालिकाभित्र प्रशासकीय अधिकृतमा भएको भाँडभैलोलाई प्रस्तुत गरेको छ ।