काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट बस्नेत दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । मेयर भएपछि बस्नेतले नागार्जुन नगरपालिका ५ स्थित सीता होम कोलोनीमा करिब १० करोड रुपैयाँ मूल्य बराबरको निजी निवास निर्माण सम्पन्न गरेको र वाफलस्थित चक्रपथमा ५० करोड रुपैयाँ बराबरको भवन सपिङ मलका लागि निर्माण गरिरहेको उजुरी आयोगमा परेको छ ।
बस्नेतले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको, सरकारी जग्गा मिचेको, गैरकानुनी आर्जन गरेको सम्पत्ति खेलकुदमा प्रयोग गरेको, श्रीमतीलाई नगरपालिकामा काजमा राखेको, खानेपानी र सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको जस्तो आरोप लागेको छ ।
गैरकानुनी आर्जन गरी सम्पत्ति जोडेको उजुरीमा उल्लेख छ । बस्नेतले एक बैकबाट २० करोड रुपैयाँ ऋण लिएर सपिङ मलका लागि भवन निर्माण भइरहेको दाबी गर्दै आफूलाई बित्थामा आरोप लगाइएको छ । विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन्।