काठमाडौं खबर पुस १४, २०८१
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो । कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्। चालु आवमा सबै वडामा उक्त अध्यास कार्यान्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उनले उल्लेख गरिन् ।
रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरीलगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर त्यहाँबाट उत्पादन भएको फोहर त्यसै ठाउँमा जैविक मल बनाउने काममा पनि विभागको अग्रसरता रहेको छ । रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन भएको फोहरबाट जैविक मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन् ।
नियमित र आकस्मिक नदी सफाइ कार्यक्रमअन्तर्गत महानगरपालिका भएर बग्ने आठ वटा नदी र नदी किनाराको सफाइका लागि गत कात्तिकदेखि एक सय २० जना सरसफाइकर्मी परिचालन गरिएको भन्दै उहाँहरूले दैनिक २० देखि २५ मेट्रिक टन फोहर सङ्कलन गरिरहेका उनले जानकारी दिए ।
सहरको भूगोललाई छ वटा क्षेत्रमा बाँडेर क्षेत्रगत रूपमा फोहरमैला सङ्कलन र ढुवानीका लागि सार्वजनिक खरिद प्रक्रियाबाट बोलपत्रदाता आह्वान गरिएको छ । “अहिले यसको मूल्याङ्कन भइरहेको छ”, राईले भनिन् । चालु आर्थिक वर्षका लागि वातावरण व्यवस्थापन विभागलाई रु ६९ करोड ९३ लाख बजेट परेको छ । विभागका प्रमुख राईका अनुसार यसअन्तर्गत नियमित कार्यक्रममा ११ दशमलव २१, क्रमागततर्फ ११ दशमलव ७२ र स्वर्णिम योजनामा शून्य दशमलव ६३ प्रतिशत खर्च भएको छ ।