भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । यसरी उनी सम्पर्कविहीन हुँदा अनुसन्धान उनीतिरै सोझिएको छ । अहिले अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घट्नास्थलमा अनुसन्धान सुरु गरेको छ ।
छिमेकीले शनिबार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको जनाइएको छ ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आउनुभएको बुझिएको छ । दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।