काठमाडौं । संघीय सरकारले मुआब्जा समेत दिएर धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ । पुष ५ गते नेपाल सरकारले बुढानीलकण्ठमा धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेसँगै बुढानीलकण्ठमा एउटा फुटबल मैदान बन्ने तथा बनाउने सपना सकार हुने भएको छ ।बुढानीलकण्ठ– ४ मा ३५ रोपनी जग्गामा धनेश्वर खेलमैदान बनाउनका लागि स्थानीयवासीसँगै वडाका जनप्रतिनिधिले देखेको एक दशक लामो सपना नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको विशेष पहलमा सम्भव भएको हो । खेल मैदान क्षेत्रको जग्गा खरिद स्वीकृति दिने सरकारले निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक गरेसँगै बुढानीकण्ठ नगरपालिका यतिखेर मुस्कुराएको छ ।
मन्त्री पौडेलले पुष ५ गते अपरान्ह आफ्नो सोसल मिडियामा एउटा स्टाटस लेख्दै मन्त्री पौडेलले भने,
‘निरन्तरको प्रयासपछि आजको मन्त्रिपरिषद बैठकले बूढानीलकण्ठ– ४ मा रहेको ३५ रोपनी जग्गामा निर्मित धनेश्वर खेलमैदान क्षेत्रमा पर्ने जग्गा मुआब्जा दिएर खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको छ,’ । मन्त्री पौडेलले यो सामाचार आफ्नाे सामाजिक सन्जालमा लेखेसँगै बुढानीलकण्ठ ४ का स्थानीयवासीसँगै वडाध्यक्ष श्रीराम केसीले खुशीले मुस्कुराए ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ मा निर्माणाधीन अबस्थामा रहेको धनेश्वर फुटबल मैदान जग्गा विवादका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन । मैदानमा परेको व्यक्तिको जग्गा किनेर भए पनि रंगशाला बनाउने कुरामा काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले आफ्नो भरभग्दुर प्रयास गरेका थिए । यसपूर्व ०७४ सालमा वडा सदस्य हुँदादेखि हाल वडाध्यक्ष रहेका वडा नं ४ का वडाध्यक्ष श्रीराम केसीले गरेको निरन्तर एवम् अथक प्रयत्न र सो प्रयत्नमाथि स्थानीयवासीले दिएको साथ नै खेल मैदान बन्ने आधारभूमि बन्यो । धनेश्वर खेल मैदान रहेको ४ नं वडाका वडाध्यक्ष श्रीराम केसी यस खेल मैदान जसरी बनाउन पर्ने र यसका लागि स्थानीय सरकाले नै भूमिका खेल्न पर्छ भनेर पटक पटक बैठक, भेला तथा दबाव सिर्जना गरेका थिए ।
वडाध्यक्ष केसीको सुझबुझपूर्ण प्रयत्नले बुढानीलकण्ठका मेयर मिठराम अधिकारी पनि मैदान बनाउनुपर्छ भन्ने विषयमा सिरियस बनेका थिए । पूर्व मेयर उद्धब खरेलकै पालादेखि प्रयत्न गरिए पनि खरेलले खेल मैदानको विषय महत्वबोध नगर्नाले लामो समय अनिर्णयको बन्दी बन्न पुगेको थियो ।
वडा नं ४ को पश्चिमोत्तर दिशामा रहेको डाँडोसहित मैदानलाई २०७० सालभन्दा अघि नै खेल मैदान बनाउने सपना स्थानीय युवाहरूले सजाएका थिए । यस खेल मैदान निर्माणका लागि तत्कालिन मन्त्री नरहरि आचार्यदेखि इश्वर पोखरेलसम्मले भूमिका खेलेका थिए ।
अब जग्गा खरिद गर्न स्वीकृति दिएसँगै खेल मैदान बन्ने विषयमा मूर्तरूप लिने अपेक्षा गरिएको छ । बुढानीलकण्ठ नगरसभाबाट जग्गाको मुआब्जा दिएर भए पनि मैदान निर्माण गर्ने सङ्कल्पसहित नगर कार्यपालिकाको प्रस्तावलाई मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगि ‘धनेश्वर खेल मैदानमा पर्ने जग्गाको मुआब्जा दिएर खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय’ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको पहलमा भएको थियो । यसमा नगरपालिकाले पाँच करोड रुपैयाँ छुट्याएको थियो ।
धनेश्वर रंगशाला मन्त्रिपरिषद्सम्म पुग्नुमा कसको कति भूमिका ?
बुढानीलकण्ठमा खाली जमिनहरू भरिँदो छ । तर व्यवस्थितरूप भने कतै देखिदैन । मानौं, हामी सहर हैन असरल्ल कंक्रिटको जंगल बनाइरहेका छौँ । सार्वजनिक जमिन संरक्षणको समस्यादेखि फोहरमैला र खानेपानीका समस्या यहाँका जनताले समाना गरिरहेका छन् । यद्यपि यो बुढानीलकण्ठको मात्र नभई समग्र काठमाडौँकै कथा जोडिएकोले यसमा केही जनप्रतिनिधि आफ्नो सपनासहितका काममा समर्पित छन् । ती त्यस्ता सपनामा काम गरिरहेका जनप्रतिनिधिमध्ये एक हुन् श्रीराम केसी । बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का वडाध्यक्ष केसीको नामसँग जोडिन्छ धनेश्वर खेल मैदान । काम गर्ने तथा गर्नपर्छ भन्ने स्वभावका केसी पछिल्ला झन्नै एकदशकदेखि बुढानीलकण्ठ पासिकोटको धनेश्वरमा एउटा फुटबल मैदानको सपनामा समर्पित थिए । उनको सपनासँग स्थानीय सबैको सपना जोडिएको थियो । अझ भनै यो श्रीराम केसीको सपना होइन स्थानीयको सपना थियो जो श्रीराम केसीले बोकेर हिँडिरहेका थिए ।
वडा नं ४ वासी तथा वडाध्यक्ष केसीको खेलमैदानवाला सपनामा पूर्व मेयर उद्धव खरेलले सकारात्मक भूमिका खेल्न नसके पनि हालका मेयर मिठाराम अधिकारीले सकारात्मक भूमिका खेले । वडाध्यक्ष केसीको अथक प्रयत्नबाट प्रभावित बनेका मेयर अधिकारीले नै कार्यपालिकामा सो प्रस्ताव लगेर मुआब्जाको लागि पाँच करोड रूपैयाँ छुट्याउने निर्णय गरेका थिए ।
खेल मैदानका रूपमा सम्याइएको ठाउँमा स्थानीय आठ जनाको तीन रोपनी जग्गा परेसँगै पछिल्ला छ वर्षदेखि यो रंगशालाको सपना स्थगितझैँ भएको थियो । सार्वजनिक जग्गाका विषयसँग जोडिएको मुआब्जाको प्रशंगलाई आँटपूर्वक नगरपालिकाबाट स्वीकृत गराउनका लागि पनि मेयर अधिकारीले देखाएको सक्रियता प्रशंसित मानिएको छ ।
स्थानीयस्तरको सार्वजनिक जग्गासँग जोडिएको मुआब्जाको विषय केन्द्र सरकारसम्म पुर्याउनका लागि आफ्नै सांसदकारूपमा प्रदीप पौडेलले चुनाव जित्नासाथ सक्रियता देखाएका थिए । यस विषयमा क्षेत्र नं ४ का सांसद गगन थापाको भूमिका पनि उल्लेखनीय रहेको देखिन्छ । सांसद पौडेलले केन्द्रको बेजट पारिदिने प्रतिबद्धता देखाएपछि मात्रै नगरपालिका स्थानीयसँग जग्गा किनेरै लिने मुडमा पुगेको थियो ।
यतिखेर धनेश्वर खेल मैदानलाई नगरपालिकाले नगरको गौरव आयोजनामा राखेको छ । यतिमात्रै हैन खेल मैदान बनाउन पर्छ भनेर क्षेत्र नं ५ पटि पर्ने बुढानीलकण्ठका वडा नं ५, ६ र ७ का वडाध्यक्षले जेजसो गर्न परे पनि गर्ने भनेर वडाध्यक्ष श्रीराम केसीलाई सदैव ढाडसका साथ साथ सहयोग दिने गरेको वडाध्यक्ष केसीले बताउँदै आएका थिए ।