काठमाडौं खबर मंसिर २७, २०८१
काठमाडौँ । कमलादीमा भासिएको बक्स कल्भर्ट करिब पाँच महिनापछि पुनर्निर्माण भएको छ । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न गर्न सडक विभागलाई करिब पाँच महिना लाग्यो । जुन आज उद्घाटन गरिएको छ ।
तर आजको यो कल्भर्ट उद्घाटनमा भने नौटंकी नै बढी देखिएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बीच रिबन काटेर सडक खोलिएको थियो । जसमा पुष्पवृष्टि गरेर रिबन काटेर कल्भर्टको उद्घाटन गरिएको थियो ।
यति सानो कामलाई यति धेरै समय लगाएको विभागले नौटंकी धेरै देखाएको भन्दै सामाजिक सञ्जालमा भने ट्रोल सुरु गरिएको छ । सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब पनि एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।