काठमाडौं खबर मंसिर २४, २०८१
काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले नक्कली विद्यावारिधि देखाएर सहपरीक्षा नियन्त्रक बनेकालाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेको छ । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिंदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको खुलेपछि संघले कारबाहीको माग गरेको हो ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिविका सावधिक पदमा भएको विज्ञापनका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै विवादित सहपरीक्षा नियन्त्रक पदको नियुक्ति प्रक्रिया खारेज गरी मर्यादित विज्ञापन गर्न माग गरेको छ । यही विषयमा संघले उपकुलपतिको कार्यालयमा पनि ज्ञापनपत्र दर्ता गराएर उनीमाथि कारबाहीको माग गरेका हो ।
महासचिव राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा नक्कली डाक्टर लेखी सहपरीक्षा नियन्त्रक पदमा आवेदन दिने व्यक्तिलाई प्रचलित कानुनअनुसार पदीय दुरुपयोग तथा भ्रष्टाचारजन्य अपराधमा तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ ।
त्यस्तै, विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनिमयले सबै पदका छनोट तथा सिफारिससम्बन्धी आधारमा यसअघि नै निवेदकले सम्पन्न गरेका कार्यहरूको मात्र मूल्यांकन गर्ने व्यवस्था गरेकोले सबै पदको अलगअलग अल्पसूचीमा परेका आवेदकहरूको व्यक्तिगत विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ ।
यस्तो छ संघले जारी गरेको विज्ञप्ति