काठमाडौं खबर मंसिर १७, २०८१
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकाको दुई वटा वडामा काँग्रेसले चुनाव जितेको छ । दुई वडा र मेयर पदको निर्वाचन भएको थियो । जसमा दुई वडाको मतपरिणाम आइसकेको छ भने मेयर पदको मतगणना चलिरहेको छ ।
मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ । डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। उनले ७ सय ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४ सय ९५ मत ल्याइन् ।
कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । ५ सय ६२ मतसहित उनी विजयी भएका हुन् । नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।