काठमाडौं खबर मंसिर १४, २०८१
काठमाडौँ । अध्ययन विदामा विदेश गएर नफर्किने प्राध्यापकविरुद्ध त्रिभुवन विश्वविद्यालय आक्रामक बनेको छ । विदेश गएर नफर्किनेहरू धेरै भएपछि त्रिवि आक्रामक बन्न थालेको हो । रेक्टर कार्यालयअन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिनभित्र विवरण पठाउन निर्देशन दिएको छ।
बिहीबार त्रिविका सबै निकायमा विवरण पठाउने ढाँचासहितको पत्र पठाइएको बताइएको छ । महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने बताएको छ ।
२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । पछिल्लो १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने तथ्यांक त्रिविसँग छैन ।