काठमाडौं । पछिल्लो समय नेकपा एमालेलाई सडकमा फोहोर गरेको भन्दै जरिवाना तोकेर चर्चामा रहेको काठमाडौं महानगरपालिकाले फोहोर फाल्नेविरुद्ध आक्रामक नीति लिएको छ । एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउँदा उसले पार्टीविरुद्ध प्रतिशोध साँधेको भन्दै जरिवाना नतिर्ने अडान लिँदै आएको छ । तर कामपाले यो एमालेविरुद्ध मात्रै गरेको कारबाही भने होइन ।
पछिल्ला दिनहरूमा सडकमा फोहोर फाल्नेलाई भकाभक महानगरपालिकाले कारबाही गर्दै आएको छ । मंगलबार मात्रै सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना गराइएको हो । त्यस्तै, सोमबार मात्रै सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।
काठमाडौं महानगरपालिकाको नीतिअनुसार यसरी फोहोर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ ।