काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक बत्तीको करिब दुई अर्ब रुपैयाँ बक्यौता रहेको पाइएको छ । महानगरपालिकासहित विभिन्न स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई नतिरेको भए पनि सबैभन्दा धेरै बक्यौता काठमाडौं महानगरपालिकाको रहेको देखिएको हो ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा अघिदेखिका सडकबत्तीबापतको बक्यौता रकम स्थानीय तहले प्राधिकरणलाई नतिरेको देखिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा ३३८ वटा स्थानीय तहले कुल छ अर्ब ९३ करोड ८३ लाख ४३ हजार ७६९ रुपियाँ प्राधिकरणलाई तिर्न बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले स्थानीय तहले जनप्रतिनिधि आउनुभन्दा अघिदेखिको सडकबत्तीबापतको बक्यौता रकम तिर्न बाँकी रहेको बताए । सडकबत्तीबापतको सबैभन्दा धेरै रकम तिर्न बाँकी काठमाडौँ महानगरपालिकाको छ । महानगरपालिकाकाले मात्र एक अर्ब ८५ करोड ८३ लाख १२ हजार ६०० रुपियाँ प्राधिकरणलाई भुक्तानी दिन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।