काठमाडौं खबर कार्तिक २५, २०८१
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् । काठमाडौंको बुढानीलकण्ठ मन्दिर प्राङ्गणमा आजबाट सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘बुढानीलकण्ठको आशीर्वाद सबैले पाउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने, यसलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्छु ।’ बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुल व्यवस्थापन गर्ने उद्देश्यका साथ हरिबोधनी एकादशी मेलाको अवसर पारेर महायज्ञको आयोजना गरिएको हो ।
त्यसो त बुढानीलकण्ठ मन्दिर अहिले नै विश्वसम्पदा सूचीको टेन्टेटिभ लिस्टमा परिसकेको छ । अब यसका विभिन्न आयामहरूलाई पूरा गरेपछि मात्रै विश्वसम्पदा सूचीमा सूचीकृत हुने गर्छ ।