काठमाडौं । काठमाडौंमा जाडो सुरु हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागको शुक्रबार बिहानको बुलेटिन अनुसार आज बिहान काठमाडौंको तापक्रम १६ डिग्री मापन गरिएको छ ।
देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको हो । काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ ।
विभागले आज बिहान ६:०० बजे जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।