काठमाडौं । नेपाल प्रहरीले गौशालास्थित पशुपति धर्मशालाको अवैध संरचना भत्काउन गएको दुईवटा डोजर नियन्त्रणमा लिएको छ । पशुपतिनाथ परिसरको गौशालास्थित धर्मशालाका अनधिकृत भत्काउन पुगेको डोजर नियन्त्रणमा लिएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयले आपत्ति जनाएको छ ।
यसअघि अदालतले समेत सो संरचनामा माडवारी सेवा समितिको कुनै स्वामित्व नरहेको भनिसकेको छ । त्यस्तै, पशुपति क्षेत्र विकास कोषले सो धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिइसकेको छ ।
बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जुनसुकै बेलामा धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरेका छन् । पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।
उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोलीले बोर्ड राखेको हो।
तर, उक्त कार्यप्रति मारवाडी सेवा समितिले आपत्ति जनाएको थियो। मारवाडी सेवा समितिले गौशाला–धर्मशाला क्षेत्रमा आफ्नो भोगाधिकार रहेको दाबी गर्दै आएको छ।