

काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण सुभारम्भ गरे । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रशाद लामिछानेले बताए ।
उनले भने, ‘मन्त्री ज्यू र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ ।’
मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौँ उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए । उनले भने, ‘मेलम्चीको शुद्ध पानी आइपुगेको छ, अब केही समयमै नागरिकका धाराधारामा पठाउछौँ ।’ खानेपानी मन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका सङ्घर्ष समितिसँग वार्ता गरेको थियो ।
वार्तापछि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।