

काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार राति आएको भारी वर्षापछि भक्तपुरबाट बग्ने हनुमन्ते खोलाको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक पुगेको छ । त्यस्तै, हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
महाशाखाले बिहीबार दिउँसो पनि उपत्यकामा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
कोशी र वाग्मतीमा भारी वर्षाको सम्भावनाले गर्दा गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।