काठमाडौं । बुढानीलकण्ठमा घर भाडामा लिएर दानवीय कार्य गर्दै आएका सुगर ड्याडी भनेर चिनिने आशीष देउलालाई थुनामा पठाउन अदालतले आदेश जारी गरेको छ । मान्छेलाई अपहरण गरी लगेर ड्रिल गर्ने, आइरनले डाम्ने जस्ता दानवीय व्यवहार गर्ने उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार बुढानीलकण्ठका आशिष देउलासहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउलासँगै उनका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई थुनामा पठाउन आदेश दिएको हो ।
एक युवकको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। अर्को युवकको जाहेरीमा भने चारै जनालाई विपक्षी बनाइएको थियो । दुई फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेकाले लगाउमा राखेर यी दुबै मुद्दाको सुनुवाइ भएको थियो ।