काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को नेपाली काँग्रेसको पूर्ण बैठक सम्पन्न भएको छ । कपनको रिभरसाइड ब्याङ्क्विटमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सांसद एवं काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा भएको बैठकमा समसामयिक घटनाक्रम, पार्टीको सांगठनिक विषय र विपद्को बारेमा भयो छलफल भएको वडा नं ११ का सभापति राधेश्याम कार्कीले जानकारी दिए ।
बैठकमा महामन्त्री थापाले काठमाडौं क्षेत्र नं ४ मा विकास निर्माण र विपद्को बेला राहत तथा उद्धारको काम गर्नका लागि दुई वटा विशेष टास्क फोर्स गठन गर्न निर्देशन दिएका छन् । उनले क्षेत्रमा एउटा र वडा स्तरमा एउटा टास्क फोर्स गठन गरी राहत र उद्धारका कामलाई अघि बढाउने एवं विकास निर्माणमा ध्यान दिँदै स्थानीय तहको कामकारबाहीमा खबरदारी गर्ने गरी टास्क फोर्स गठन गर्न निर्देशन दिएका हुन् ।
वडा सभापति कार्कीका अनुसार प्रत्येक वडामा वडा सभापतिको नेतृत्वमा पार्टी इकाईका तीन जना, जनप्रतिनिधि भएको वडामा सबै जनप्रतिनिधि र काँग्रेसप्रति शुभेक्षा राख्ने सम्बन्धित क्षेत्रका विज्ञ सम्मिलत एउटा टास्क फोर्स गठन गर्ने निर्णय भएको छ ।
त्यस्तै, क्षेत्रीय कमिटीको टास्क फोर्समा क्षेत्रीय कमिटीका प्रतिनिधि, नगर कमिटीका प्रतिनिधि, प्रदेश कमिटीका प्रतिनिधि र महाधिवेशन तथा महासमिति सदस्य समेटिने छ । यसको नेतृत्व कसले गर्ने भन्ने बारेमा दिउँसो २ बजे बैठक बसेर टुंगो लगाउने निर्णय पनि भएको कार्कीले जानकारी दिए ।