काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एआईको प्रयोग परीक्षामा गरेको पाइएमा परीक्षा नै रद्द गर्ने निर्णय गरेको छ । मंगलबार सूचना जारी त्रिविले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको सूचनामा उल्लेख छ ।
त्रिविविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउनुहुन्छ । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ ।
यसैबीच, विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन, कानुन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीका हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा पार गरेका परीक्षार्थीलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइएको जनाएको छ ।