काठमाडौं । नेपाल प्रहरीले यो वर्ष पोहोरको तुलनामा पाँच लाख धेरैले उपत्यका छाड्ने अनुमान गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए । पोहोर यो समयमा करिब १३ लाख जनाले उपत्यका छाडेको प्रहरीको अनुमान छ ।
प्रवक्ता खड्काले भने, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।”
खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उहाँले बताउनुभयो । प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसीयारी पुर्याउन र यात्रुलाई पनि सजगरहन आग्रहसमेत गर्नुभयो ।