काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग र त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग मिलेर आयोजना गरेको अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । शनिबार र आइतबार ललितपुरको हिमालय होटलमा आयोजना गरिएको अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी सेमिनारमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र एशिया-प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय सूचना र नेटवर्किङ केन्द्र (इचक्याप)को सहयोगमा सेमिनार सम्पन्न भएको हो।
आइतबार सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सेमिनारको मुख्य सत्रलाई सम्बोधन गरेका थिए । उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण र अनुकूलनका रणनीति विकास गर्न सकिने बताए । उनले बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू–उपग्रह प्रविधिसँग जोडेर ‘सटिक’ रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताए ।
कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदाको सुरक्षाका लागि एशिया-प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल (APHEN-ICH) भित्र जोडिएका १२ देशका २० विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी भएको सेमिनारका संयोजक एवं त्रिवि संस्कृति केन्द्रीय विभागको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक डा. अभिजित थापाले जानकारी दिए । उनले अमूर्त सांस्कृतिक सम्पदा र पूर्खाहरूबीचको वास्तविक सम्बन्ध र जलवायु परिवर्तनले पारेको असरसँग कसरी जुधिरहेका छन् भन्ने बारे धारणा राखेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूलाई स्वागत गर्दै यस्ता कार्यक्रमहरूले त्रिविलाई अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् । यसअघि नै शनिबार विश्वविद्यालयका विद्यार्थीहरूमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘युथ सेसन’को आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख डा महेश कुमार आचार्यले त्रिभुवन विश्वविद्यालय नेपाली अमूर्त सम्पदाको अध्ययन अनुसन्धानमा सक्रिय रहेको भन्दै यसको लागि सरोकारवाला एवं सहयोगी संस्थाहरूसँग साझेदार गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभाग संस्कृति र पुरातत्वको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग जोडिएर काम गर्न तयार रहेको प्रतिक्रिया दिए ।
कार्यक्रममा एपेन इचका सचिव प्रा नीलकमल चापागाईंले एपेन इचको बारेमा प्रकाश पार्नुका साथै यसले अमूर्तसम्पदाको संरक्षणमा खेलेको भूमिकाको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा खड्ग केसी, विश्वविद्यालयका पूर्व रजिस्ट्रर प्रा पेशल दाहाल, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रर प्रा. अच्युत वाग्ले लगायतले धारणा राखेका थिए । सेमिनार सोमबार सम्पन्न भए पनि एपेन इचको साधारणसभा सोमबार सम्पन्न हुने आयोजकले जनाएको छ ।